आमासंग नि:शुल्क फिल्म ‘आमा’

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘आमा’ को नयाँ योजना लागु हुने भएको छ । फिल्म रिलिजको एक दिन अगाडी निर्माण पक्षले नयाँ योजना दर्शकसामु ल्याएका हुन् । नयाँ घोषणा अनुसार काठमाण्डौका केही हलमा आफ्नो आमासँग फिल्म हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ । काठमाण्डौको जय नेपाल हलमा ११ बजेर ४५ मिनेटको शो, क्यूज हलमा १० बजेर ४५ मिनेटको शो र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

यो योजना सम्पूर्ण दिन नै लागु हुनेछ । ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ यसको घोषणा गरिएको निर्देशक खनालले बताए । ‘हामीले आमाको कथा पर्दामा देखाउदै छौ त्यसैले केहि हलमा यसको घोषणा गरेका हौँ’ उनले भने । हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनले जनाए । फिल्ममा मिथिला शर्मा आमाको र सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । बुवा बिरामी भएपछी र दाइ काम गर्न विदेशमा रहेको अवस्थामा एउटी छोरीले आमासंगै गर्ने संघर्षलाई यसमा देखाइएको अनुमान ट्रेलरबाट गर्न सकिन्छ । फिल्मकै लागि उनले कपाल मुण्डन समेत गरेकी थिइन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहेको छ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्