‘गलत काम गर्नेलाई कारवाही हुनुपर्छ, म सघाउन तयार छु’

फिल्म । अभिनेता आर्यन सिग्देलले कलाकारको आवरणमा मानव तस्करीको घटनामा आफू समेत मुछिएपछि प्रष्टीकरण दिएका छन् । उनले रोशन पराजुली नामक व्यक्तिसँग आफूले एउटा म्युजिक भिडियोमा सहकार्य गरेकाले नयाँ प्रोजेक्टमा पनि आफू तयार भएको बताएका छन् । पर्यटन बोर्डबाट फोन आएपछि आफू झस्किएको बताउँदै उनले गलत काम गर्नेलाई कारवाही हुनुपर्ने समेत बताए ।

नर्वेमा दुईवटा म्युजिक भिडियो गर्ने गरी पाँच सात दिनमा सुटिङको कुरा भएको आर्यनले बताए । ‘त्यहाँ मान्छे छाड्न जाने त होइन नि भनेर मैले त्यतिबेलै प्रश्न गरेको थिएँ,’ उनले भने, ‘तर उसले त्यस्तो होइन, चार–पाँच जना मात्र जाने हो भनेको थियो’ उनले भने । केकी त जाने कुरा बारे आफू अनविज्ञ रहेको आर्यनले बताए । ‘१५ दिनअघि उसले भिसाका लागि भनेर मेरो पासपोर्ट लगेको थियो । जब पर्यटन बोर्डबाट कीर्ते भएको कुरासहित फोन आयो, म झस्किएको छु’ आर्यनले भने ।

उनले रोशन पछिल्लो समय सम्पर्क विहिन रहेको समेत बताए । ‘अहिले ऊ सम्पर्कविहीन छ । उसको त पहिल्यैदेखि यस्तो धन्दा रहेछ । गलत काम गर्नेलाई कारवाही हुनुपर्छ, म सघाउन तयार छु,’ उनले भने । रोशन दिल्लीमा रहेको सुनेको आर्यनले बताए ।

अभिनेत्री केकी अधिकारी आफ्नो नाम र तस्वीर दुरुपयोग भएको भन्दै कारवाहीको माग गरेकी छन् । फिल्म छायांकन गर्ने भन्दै १४ जनालाई नर्वे पुर्‍याउन भारतस्थित नर्वेली दूतावासमा कीर्ते कागजात पेश गरेको खुलासा बुधबार भएको थियो । नर्वेजियन दूतावासका प्रतिनिधिले यसबारे पर्यटन बोर्डमा फोन गरेर बुझेपछि यो घटना बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्