‘नाईं नभन्नू ल ६’ ट्रेलर सार्वजनिक

फिल्म। विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेट रिलिज गरिएको ट्रेलर प्रेम र वियोगले भरिएको छ । अनुभव रेग्मी र योगिशा खत्रीको प्रेमबाट सुरु भएको ट्रेलर डेब्यू ब्वाई आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्माको प्रेम वियोगमा पुगेर टुंगिएको छ ।

ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन (खबपु), अभिनेता निखिल उप्रेतीका छोरा अथर्वले पनि स्थान पाएका छन् । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको फिल्म नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘नाईं नभन्नू ल’का अघिल्ला पाँटवटै श्रृंखला घरेलू बक्सअफिसमा निकै सफल भएकाले छैटौं सिरिजलाई लिएर पनि दर्शकमा अपेक्षा उच्च छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्