‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिता घोषणा

फिल्म। चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने तीन जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कार रु पचास हजार, द्वितीय पुरस्कार रु तीस हजार र तृतीय पुरस्कार रु. बीस हजार तोकिएको छ । पत्र चलनचल्तिको सेतो कागजको एफोर साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ। पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा पाँचसय देखि बढीमा एक हजार शब्दमा लेखिएको हुनुपर्नेछ ।

पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ ।

यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक (कवि तथा साहित्यकार), मनोजबाबु पन्त ( चलचित्रकर्मी) र महेश त्रिपाठी (अभिनेता) रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ ।

पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि २० गते सम्म पठाइसकेको र २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । किनकि २७ गते पुरस्कार घोषणा हुनेछ ।आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

कमेन्ट गर्नुहोस्