प्रदीपको फिल्म यात्रा : ‘प्रकाशदेखि मैत बहादुरसम्म’

फिल्म । अभिनेता प्रदीप खड्काको परिचय स्थापित गर्ने फिल्म हो,‘प्रेम गीत’ । यसै फिल्ममार्फत उनले प्रेमको उपनाम समेत पाए । यद्यपि पछिल्लो समय उनी आफूलाई लागेको लभरब्वाईको क्यारेक्टरलाई फेर्ने तयारीमा छन् । ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तरता दिएका प्रदीप ‘पुजार सार्की’ सम्म आइपुग्दा कलाकार बनिसकेका छन् ।

यसपटक उनी ‘मैतबहादुर’ बनेका छन् । उनले आफ्नो पात्रमार्फत समाज रुपान्तरणसँगै विभेद अन्त्यका लागि सङ्घर्ष गरेका छन् । काठमाडौँ उपत्यकामा हुर्किएका प्रदीपले पछिल्लो दुई फिल्ममा ग्रामिण जीवनलाई बाच्ने र बुझ्ने मौका पाए ।

‘प्रकाशमा मलाई निर्देशक दिनेश राउतले फरल भूमिका प्रस्ताव नगर्नुभएको भए अझै केहीवर्ष गर्दिनँ थिएँ, किनकि मलाई यस्तो फिल्म गर्नुपर्छ भन्ने चेत नै थिएन । मैले चरित्रलाई फरक गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ । तर, प्रकाशपछि मैले पाएको प्रतिक्रियाले मलाई फरक प्रकृतिका फिल्ममा आकर्षित गर्यो । एउटा कलाकारले कम्फर्टजोनबाट निस्किएर काम गर्नुपर्छ भन्ने लाग्यो र अहिले आफ्नो स्टारडमको छायाँ बिर्साउने काम गर्दैछु’, प्रदीपले भने ।

फिल्ममा ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ । प्रदीपले आफ्नो पात्रले नेपाली समाजलाई थोरै भएपनि शिक्षित गर्ने बुझेका छन् ।

प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए । ‘काम सही छ भने त्यसको आउट पुट गलत हुँदैन भन्नेमा म प्रस्ट छु । कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर भन्यो भने पनि यो कला र साहित्य हो । अहिले विश्वयुद्धको, हिट्लरको फिल्म बनाउन नपाउने भन्ने त हुन्न होला । काला जातिलाई जुन शोषण गरियो, त्यस विषयमा फिल्म बन्न बन्द गर्नुपर्ने पनि होइन होला । नेपालको परिप्रेक्ष्यमा पचासौँ वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ । तर पनि उनीहरूले आजको दिनमा पनि विभेदका घटना व्यहोरिरहेका छन्’, प्रदीपले भने ।

प्रदीपले वास्तविक जीवनमा भने उनले कलेज जीवन सुरु गरेपछि मात्र सञ्चारमाध्यमका समाचारमार्फत जातीय विभेदका कुरालाई बुझेका थिए । ‘म ललितपुरको एकान्तकुनामा जन्मिएँ । मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो । १२ कक्षा पढुन्जेल मेरा साथीहरू कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन । सबै जना आफैँ जस्तो देख्थेँ । तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ’, उनले भने ।

प्रदीपका अनुसार उनले दमाहा बजाएको दृश्यसहित टिजर र पोस्टर सार्वजनिक भएपछि परिवारसहित सबैले ‘इन्जोय गरेछ’ भने । उनलाई पनि साँच्चै मजा आएको रहेछ । ‘मैले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित थिए । म पहिला तबला बजाउँथे, मलाई बिटहरूको आइडिया छ । म अहिले पनि गितार बजाउँछु । त्यस कारण मलाई रिदमको जानकारी थियो । त्यस कारण पनि दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो होला । बिटमा बजाउन मलाई समस्या भएन, मैले केवल टाइमिङ मात्र सिक्नु थियो’, प्रदीपले भने ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ ।

निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल फिल्मलाई कुनै सम्झौता नगरी बनाएको बताउछन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ। सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्