जापानमा ‘पुजार सार्की’ ले रच्यो इतिहास

फिल्म । पछिल्लो समय नेपाली फिल्मको बजार नेपाल बाहिर पनि राम्रो बनिरहेको छ । संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, मध्यपूर्वका देशसँगै जापानमा पनि नेपाली फिल्म हेर्नेको सङ्ख्या बढ्दो छ । बुद्ध जयन्तीको अवसर पारेर विश्वभर एकसाथ प्रदर्शन गरिएको फिल्म ‘पुजार सार्की’ हेर्ने जापानमा भिड नै उर्लिएको छ ।

टोक्योमा रहेको नाकानो जेरो हलमा लगभग पन्ध्रसय बढी दर्शकले फिल्म हेरेको स्थानीय प्रदर्शकले जानकारी दिएका छन् । उक्त हलमा पचास प्रतिशत दर्शक हुँदा सफल मानिने भएता पनि यसपटक भने क्षमता भन्दा बढी दर्शक सहभागी भए । स्थानीय आयोजकका अनुसार बाह्र सयले सिटमा बसेर तथा तीन सयले आफ्नो अवस्था अनुकुल फिल्म हेरे ।

उक्त शोमा सहभागी हुन नेपालबाट अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए। अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा अथाह भिड र क्रेज देखिएको छ। यस अगाडि यस्तो भिडभाड ‘कबड्डी ४’ मा देखिएको स्थानीय प्रदर्शकले बताएका छन् । आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मका लेखक विकास सुवेदी र निर्माता सुवास भुसाल हुन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गरिरहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्