‘अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड’मा सुनिल, गोपाल र तेजुला सम्मानित

फिल्म । काठमाडौँमा आयोजित ‘छैटौँ अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड २०२४’ मा कलाकर्मी सम्मानित भएका छन् । बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धासहित नेपालका अभिनेता सरोज खनाल, किरण केसी लगायतले नेपालमा कलाकारितामा योगदान दिनेलाई सम्मान गरेका हुन् । उक्त सूची उत्कृष्ट चरित्र अभिनेताको सम्मानबाट अभिनेता सुनिल कटुवाल, बेष्ट कमेडियन एक्टर अफ नेपालको सम्मानबाट गोपाल ढकाल ‘छन्दे’ र ‘बेष्ट एक्टर अफ नेपाल भर्सस्टाइल’ सम्मानबाट नायिका तेजुला खतिवडा सम्मानित भएका छन् ।

आफ्नो निरन्तर काम र लगनशीलतालाई मध्यनजर गर्दै प्रदान गरिएको सम्मानले झनै उर्जा थपिएको कलाकार ढकालले बताए । उनले भने,‘मैले विसं २०६० सालदेखि निरन्तर रुपमा गरिरहेको कलाकारितालाई मुल्यांकन गर्नुभएकोमा आभारी छु । एउटा कलाकारलाई यस्ता सम्मानले अगाडि बढ्न उर्जा प्रदान गर्छ ।’

नेपाल चलचित्र कलाकार सङ्घका कोषाध्यक्ष समेत रहेका अभिनेता कटुवालले चरित्र अभिनेताको रुपमा थुप्रै फिल्ममा काम गरिसकेका छन् । ‘बलिउडसँगै नेपालका प्रसिद्ध कलाकारबाट सम्मानित हुने अवसर पाएँ । कामको मूल्यांकन भएको आभाष भएको छ ।’

वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल, संगीतकार राजु सिंह, शम्भुजीत बास्कोटालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अन्य कलाकर्मी पनि सम्मानित भएका छन् । नेपाल र भारतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी दिनेश डिसिले सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्