‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी हुँदै

फिल्म । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन् । यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको बारेमा जनचेतना लगाउने उद्देश्य लिएर आयोजना गर्न लागिएको पण्डितले बताइन् ।

जस अन्तर्गत यही असार २५ गते साँझ ६ बजे पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स (सिनेप्लेक्स) हलमा पहिलो प्रदर्शन हुने भएको छ । यी शो हरू नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि हुने बताइएको छ ।

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस फिल्ममा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन रहेको छ।

‘एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा फिल्म बनेको छ । अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने विश्वास लिएकी छु’, निर्देशक पण्डितले बताइन् ।

यसमा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्