‘चलचित्र ऐन छिटै बन्छ’ : मन्त्री शर्मा

देश । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विसं २०२६ सालमा बनेको ‘चलचित्र ऐन’ ले अहिलेको अवस्था कठिनाई उत्पन्न गराएको प्रति आफू र मन्त्रालय जानकार रहेको बताएकी छिन् । आज यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले नयाँ ऐन बनाउने प्रक्रियामा आफू र आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिईन् ।

‘अहिले व्यस्था फेरिएको छ । फिल्म बन्ने शैलीमा नयाँपन आएको छ । यो अवस्थालाई २०२६ सालमा बनेको कानूनले समेट्दैन भन्नेमा स्पष्ट छु । त्यसकारण हामीले प्रक्रियागत रुपमा त्यसलाई अगाडि बढाएका छौँ”, मन्त्री शर्माले भनिन्,‘ऐन बन्ने कुरा हामीले सरोकारवालासँग छलफल गरेर ल्याउन चाहेका हौँ । हामीले बनिसकेको मस्यौदामा सङ्घसंस्थाको प्रतिक्रिया लिएपछि सबन्धित मन्त्रालयमा सहमतिका लागि पठाएका छौँ । छिटै चलचित्र ऐनले पूर्णता पाउने छ ।’

उनले देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम र देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर फिल्म निर्माण गर्न आग्रह गरिन् । ‘फिल्म मनोरञ्जन मात्र नभई संदेश प्रवाह गर्ने प्रभावकारी माध्यम हो । त्यसकारण देशमा भएको परिवर्तन पर्दामा देखुनु र आउनु जरुरी छ’, उनले भनिन् ।

बोर्डको २४ औँ वार्षिकोत्सवको अवसर मा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचन लगायत गरिएको थियो । यद्यपि यसवर्ष बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ भने गर्न सकेन ।

कमेन्ट गर्नुहोस्