सिल्भरलाइन हस्पिटलमा कलाकारले विशेष छुट पाउने

फिल्म । नेपाल चलचित्र कलाकार सङ्घका सदस्यले बालाजुमा रहेको गैर नाफामूलक सिल्भरलाइन अस्पतालमा उपचार गरेमा विशेष छुट पाउने भएका छन् । आज अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै पक्षले हस्ताक्षर गर्दै सेवा सुविधा बारे सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकारले विशेष सेवा सुविधा प्राप्त गर्ने बताए ।

‘आर्थिक अवस्था न्यून भएकालाई हाम्रो यो सम्झौताले लाभ दिनेछ । उहाँहरुले देखाउनु भएको सम्मानले हामीलाई अप्ठेरो परेको समयमा सुविधा पाउनेमा विश्वस्त छु’, अध्यक्ष निरौलाले भने ।

अभिनेत्री वसुन्धरा भुसालले विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका कलाकारसँगै फिल्मकर्मीलाई यो निकै उपयोगी हुने बताइन । उनले स-साना छुटका लागि अस्पतालमा गर्नुपरेको सङ्घर्षलाई स्मरण गर्दै कलाकार सङ्घको परिचयपत्रकै आधारमा पाइने छुट सुखद खबर रहेको बताइन ।

अस्पतालका प्रवन्धक डाक्टर अभिषेक राज सिंहले आर्थिक अभावमा कोही विरामीले आफू कार्यरत अस्पतालमा ज्यान गुमाउनु नपर्ने बताए । उनले उपचार अनुसार न्यूनतम बीस प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । उक्त कार्यक्रममा कलाकार सङ्घका सल्लाहकार प्रथम अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, अभिनेता सविन श्रेष्ठ, गोपाल ढकाल, निर्माता रवीन्द्रसिंह बानियाँ, प्रोडक्सन म्यानेजर शंकर पाण्डे लगायत उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्