‘घरज्वाइँ’ सेलेब्स रिभ्यू : मनोरञ्जनसँगै मगर संस्कृति बुझाउने फिल्म

फिल्म । यही असार २८ मा प्रदर्शन हुने मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ काठमाडौँमा प्रिमियर गरिएको छ । निर्देशक अनिल बुढा मगरले आफ्नो डेब्यु फिल्ममा विवाह संस्कृतिलाई प्रस्तुत गरेका छन् । फिल्मको प्रिमियर अगाडि मगर संस्कृति झल्किने पहिरन र नृत्य प्रस्तुत गर्दै निम्तालुलाई स्वागत गरिएको थियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर समुदायको पहिरनमा उपस्थित थिए । फिल्ममा उनीहरुको प्रेमलाई मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ । मिरुनालाई प्राप्त गर्न दया घर ज्वाइँ बस्नु पर्ने प्रचलनलाई फिल्ममा देखाईएको छ । फिल्म हेर्न आइपुगेकाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले मगर समुदायको संस्कृतिसँगै रुकुमको सुन्दरतालाई फिल्ममा हेर्न पाइएको प्रतिक्रिया दिए ।

प्रिमियर शोमा फिल्म हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, ‘खुस्मा’ निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायत उपस्थित थिए । प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा मिडियासँग प्रतिक्रिया दिँदै कुमको तकसेरा क्षेत्रको कथा उठान गरेको फिल्मले मनोरञ्जनसँगै संस्कृतिलाई उजार गरेको बताइन ।

अभिनेत्री उपासना सिंह ठकुरीले फिल्मको माध्यमले कल्चरलाई बुझ्ने मौका पाएको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिनुका साथै संस्कृतिसंग जोडिएको छ । म फिल्म हेर्दा पात्रसँग कनेक्ट भएँ ।’

अभिनेता कुन्साङ बम्जनले कथावस्तु र प्रस्तुती मन परेको बताए । अभिनेता दायाहाङ राईले मगर संस्कृति ‘घरज्वाइँ’ परम्परा रहेको बताए । उनले भने,‘कल्चरमाथि इन्ट्रेस्ट हो, मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । यो फिल्ममार्फत मैले बाचेको जीवन छुटै छ ।’

अभिनेत्री मिरुना मगरले ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिदै आफू पूर्वेली भएकाले त्यहाँ अपनाइने संस्कृतिसँग नजिक भएको बताइन । उनले भनिन्,‘हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइन् । त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढि रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाएँ ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्