‘नेपाल फेस्टिभल २०२४’मा हिमालले नचाए दर्शक

विदेश। लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा सम्पन्न एक दिने महोत्सवमा पाँच हजार भन्दा बढी नेपाली सहभागी भए । महोत्सवमा सहभागीले नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए ।

‘यो महोत्सवमा नेपालीहरुको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ । हामीले अपेक्षा गरेको भन्दा दोब्बर सङ्ख्यामा उपस्थिति रह्यो । परदेशमा नेपाललाई मिस गरिरहनुभएको हामीले महसुश गरेका छौँ । आउँदो वर्ष पनि यस्तै समयमा यसलाई निरन्तरता दिनेछौँ । पहिलोपटक आयोजना गरेकाले केही सिमितता थियो, अर्को पटक झनै भव्य गर्ने छौँ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु भयो’, भण्डारीले भने ।

निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतीमार्फत महोत्सवमा सहभागी भएकालाई नचाए । गायक हिमाल सागर महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए । उनले क्यानडामा रहेका नेपाली माँझ प्रस्तुती दिन पाउँदा छुटै अनुभूति भएको बताए । ‘प्रवासमा पाइने माया र आफ्नोपनलाई शब्दमा व्यक्त गर्न सकिदैन । महोत्सवमा नेपाली गीतसङ्गीत र नेपाल प्रति दर्शाउनु भएको माया अद्भुत छ । प्रवासमा रहनुहुने नेपालीलाई थोरै भएपनि नेपालको न्यास्रो मेटाउने काम यस्ता महोत्सवले गरेको छ, जस्तो लाग्छ’, गायक हिमालले भने ।

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । क्लबका महासचिव विर्ख खड्काले स्वागत मन्तव्य राख्नुभएको महोत्सवको कार्यक्रममा ब्राम्पटन साउथ एमपी सोनिया सिद्धु, ब्राम्पटनका मेयर प्याट्रिक ब्राउन, ब्राम्पटनका काउन्सुलर रड पावर, एनआरएन् क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

क्यानडामा रहेका सम्पूर्ण नेपाली सङ्घसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपाली बीच सामीप्यता बढाउन सफल भएको आयोजकले बताएका छन् । महोत्सवमा औपचारिक कार्यक्रम क्लबका प्रवक्ता भूमिराज घिमिरे र सांस्कृतिक कार्यक्रम जीआर भण्डारीले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्