लोकर्नोमा छनोट भयो ‘शाम्बाला’

फिल्म । निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध ‘लोकर्नो चलचित्र महोत्सव’ को ७७ औँ संस्करणमा छनोट भएको छ । महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा फिल्म छनोट अविश्वसनीय रहेको निर्माण पक्षद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताएका छन् । फिल्मको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखेता पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको उनले बताए । फिल्ममा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको फिल्मलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् ।

डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा छायांकन गरिएको फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्